एन्फाले आर्थिक वर्ष ६८/६९ का लागि १८ करोड १० लाख उन्नाईस हजारको अनुमानित बजेट पारीत गरेको छ । एन्फाले आइतबार सम्पन्न १२ औं बाषिर्क साधारण सभाले बजेट पारित गरेको हो ।
साधारण सभाले ६७।६८ को आय तर्फ १३ करोड १९ लाख ५३ हजार पांच सय र व्यय ९ करोड ६५ लाख ४० हजार चार सय रुपैयाँ रहेको आयव्यय अनुमोदन गरेको छ । यस्तै ४१ औं र ४२ औं जिल्ला फुटबल संघको रुपमा सिन्धुली जिल्ला फुटबल संघ र संखुवासभा जिल्ला फुटबल संघलाई जिल्ला फुटबल संघको रुपमा मान्यता प्रदान गरेको छ ।
कार्यक्रममा खेलकुदमन्त्री कमला रोकाले साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रदर्शनको प्रशंसा गर्दै राज्यले पनि फुटबल खेलाडीलाई प्रोत्साहन गर्न कुनै कसर बांकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली टोलीका कप्तान सागर थापालाई ५० हजार दिने घोषणा गर्नु भयो ।
थापाले बंगलादेशविरुद्धको खेलको अन्तिम मिनेटमा फि्र किकमार्फत आकर्षक गोल गर्दै नेपाललाई सेमिफाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलका थिए ।