अमेरिकी फिल्ममा 'डेब्यु' गरेका नेपाली अभिनेता राजवल्लभ कोइराला सोमबार निकै खुशी देखिन्थे। फिल्म 'हाइवे-टु-धम्पुस' मा नायक बन्न पाउँदा खुशी लाग्नु त स्वभाविक थियो नै सफलतापूर्वक अभिनय गरेर हलिउडमा ढोका खुल्न सक्ने आशाले उनी दंग थिए। फिल्म 'हाइवे टु धम्पुस' को पोखरा नजिकैको गाउँ धम्पुसमा छायांकन सकेर निर्माण टोली सोमबार काठमाडौं फर्कने तरखर भइरहँदा राजवल्लभले भने, 'आगामी दिनमा पनि अरु अंग्रेजी फिल्ममा काम गर्ने अवसर पाउनसक्छु।'
यस फिल्ममा अभिनय गर्न पाउनु अवसर र चुनौती दुवै रहेको बताउने उनले भविष्यमा अझै मेहनत गर्ने बताए। 'हलिउडमा जाने बाटो त खुलेको छ नै, विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने अवसर समेत जुटेको छ,' उनले भने। अर्को वर्ष बर्लिन र टोरन्टो फिल्म फेस्टिभलमा सहभागी हुनसक्ने संकेत उनलाई मिलेको छ।
फिल्ममा अभिनय गरेबापत अमेरिकी डलरमा पारिश्रमिक बुझेका नायक राजवल्लभले पारिश्रमिक भने खुलाएनन्। उनी सन्तुष्ट चाहिँ छन्।
'यो फिल्ममा निकै व्यवस्थित तरिकाले काम गर्न पाउँदाको मज्जा नै बेग्लै,' उनले अनुभव सुनाए, 'यसले अझै तिखारेको छु। सबै काम 'सेडुअल' अनुसार हुने भएकोले रमाइलो र जोस जाँगर बढेको छ।'
अमेरिकी निर्माता जोन डि विलियम्सले बनाएको 'हाइवे टु धम्पुस'लाई रिक म्याक फारल्यान्डले निदर्शेन गरेका छन्। अन्नपूर्ण आधारशिविरको पदमार्गमा पर्ने पोखराबाट करिब १५ किलोमिटर टाढाको धम्पुस गाउँमा छायांकन गरिएको उक्त फिल्ममा अमेरिकी अभिनेता गनर राइट पनि नायक छन्। गनरले यसअघि अमेरिकामा 'लभ', 'डेडस्पेस' लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।
फिल्ममा बेलायतकी रिचेल हर्ड उड अभिनेत्री छिन्। ती बाहेक सुयशा राना, देशभक्त खनाल र बाल कलाकार सयुश गुरुङले अभिनय गरेका छन्। रिचेलले यसअघि 'पर्फ्युम', 'पिटर फेम' जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन्।
फिल्ममा कास्कीको धम्पुस सहित सोलुखुम्बुको फाप्लुका रोमाञ्चक दृश्य पनि हुनेछन्। फाप्लुको सुटिङ गर्न टोली केही दिनमा सोलुखुम्बु जाँदैछ। बेलायत, अमेरिका र कुवेतमा पनि यसको सुटिङ हुनेछ। फिल्मको ८५ प्रतिशत दृश्य नेपालकै हुनेछ।
'पोखरा घुम्न आउने पर्यटक हुन वा र अरु, सबैको केही न केही उद्देश्य रहेको हुन्छ, यो फिल्मले पनि यस्तै उद्देश्यका लागि आएको विषयलाई कथासँग जोडेको छ,' राजवल्लभले भने। नेपाली कथामा फिल्म बनाएकोले 'लोकेसन' खोज्ने क्रममा धम्पुस रोजाइमा परेको निर्माताले बताए।
फिल्ममा राजवल्लभले हवाईजहाज पाइलटको भूमिकामा अभिनय गरेका छन्। उनले अभिनय गर्दा पिलाटस पोर्टर जहाज उडाउँछन्। 'पटकपटक हिरोइनलाई जहाजमा घुमाउन लैजाने र ल्याउने क्रममा सम्बन्ध नजिकिन्छ र त्यही सम्बन्ध फिल्मको कथासँग जोडिन्छ,' राजवल्लभले भने।
अभिनेत्री रिचेल पनि पर्यकीय गाउँ धम्पुसको सुन्दर दृश्यमा रम्न पाउँदाको बयान गर्न पछि परिनन्। उनले सुन्दर ठाउँमा सुन्दर दृश्य पस्केको बताइन्। 'धम्पुसको सुटिङले मलाई नौलो अनुभव दिलाएको छ,' उनले भनिन्, 'नेपालप्रति सकारात्मक दृष्टिकोण यस फिल्मले दिनेछ।' फिल्मका कलाकारलाई लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालकले मायाको चिनो दिएर बिदाइ गरेका थिए।