Nepali Film

किन अश्लिल हुँदैछन् नेपाली चलचित्रहरु ? (अडियो सहित)

केहि समय अघि निर्माण भएर प्रदर्शनमा आएको चलचित्र लुट त्यसमा प्रयोग भएको संवादकै भरमा चल्यो ।
हिजोआजका शहरीया युवाबीच चल्ने भाषालाई टिपेको लुटले ओरालो लागेको नेपाली चलचित्र बजारमा एउटा तरंग त ल्यायो तर सँगसँगै एउटा गलत मान्यता पनि स्थापित भयो नेपाली चलचित्र क्षेत्रमा मनपरी संवादको प्रयोगले चलचित्र चल्छ भन्ने । प्रयोगका नाममा अहिले यसलाई उछिन्नेगरी मनपरी संवाद र यौन दृष्य हालेर चलचित्र बनाउने होडवाजी नै चलेको छ ।

यसैगरी केहि समय अघि हिरो हिरोईनका अर्धनग्न तस्वीर सहितको पोष्टर सार्वजनिक गरेपछि निक्कै विवाद र चर्चामा आयो चलचित्र चपली हाईट । हिरो हिरोईनको कम्मरभन्दा माथीको भागमा कुनै बस्त्र नलाइएको फोटो हालिएको सो पोष्टर पछि हटाउन त कर लाग्यो तर त्यसकै भरमा चलचित्रले राम्रो व्यापार ग¥यो । तर चपली हाईटका निर्माता अर्जुन कुमार आफ्नो चलचित्रलाई अश्लिलता फैलाएको आरोप मात्रै लागेको बताउनुहुन्छ । “चलचित्र हेर्नेले थाहा पाउँछ हाम्रो चलचित्र नारी प्रधान बिषयमा आधारित चलचित्र हो भनेर । यो सवै अफवाह मात्रै फैलाइएको हो” उहाँको तर्क छ ।
तर थोरै लगानीमा बनेको चपली हाईटको कमाई आश गरेभन्दा धेरै भएपछि यौनका दृष्य र अश्लिल संवाद बिक्छ भन्ने ठाने अरु निर्माता, निर्देशक र हिरोहिरोईनहरुले पनि । त्यसैले अहिले प्रशारणयोग्य नठानिएका संवाद राखेर भटाभट चलचित्रहरु निर्माण गरिंदैछन् । निर्देशक र नायिकाहरु नै यौनका दृष्य दिन प्रतिस्पर्धा गरिरहेको अवस्थामा यो क्रम अझ बढ्ने देखिन्छ । एटिएम, सायद, द लास्ट किस जस्ता चलचित्र त्यसैका पछिल्ला उदाहरण हुन् । लुट र चपली हाईट लगायतका चलचित्रलाई कतिले नयाँ पुस्ताको माग अनुरुपको चलचित्र भनेपनि यौन र अश्लिल संवादलाई मसला बनाईएका चलचित्रले झन अन्यौलता थपेको बताउनुहुन्छ रंग पत्रकार प्रकाश सुवेदी । अहिले बनिरहेका चलचित्र समाजको माग अनुरुपको नभएको दावी गर्दै पत्रकार सुवेदी भन्नुहुन्छ यस्ता चलचित्रले नेपाली चलचित्रलाई माथी उठाउँछन् भनेर कल्पना पनि गर्न सकिन्न ।

बिसं २०६८ सालमा प्रदर्शनमा आएका ६५ वटा चलचित्र मध्ये ३ वटाको मात्रै व्यापार राम्रो थियो । त्यसैले अहिले लगानी सुरक्षित गर्न यौन र अश्लिल संवाद प्रयोग गरेर चलचित्र बनाईएका हुन् भन्ने सजिलै अनुमान गर्न सकिन्छ । तर यस्तै चलचित्र बन्दै जाने हो भनें नेपाली चलचित्रको भविष्य नै खतरामा पर्ने देख्नुहुन्छ चलचित्र निर्देशक समाजका अध्यक्ष बिमल पौडेल ।
यसरी अश्लिल संवाद र दृश्यको बाढी आउन थालेपछि सेन्सर वोर्डले पनि चलचित्रको सेन्सरमा केहि कडाई गर्न थालेको छ । तर पनि यौनजन्य दृष्य राखिएका र अश्लिल संवाद सहितका चलचित्र बनाउने क्रम रोकिनुको साटो अझ बढेको छ । त्यसैले समाजको माग अनुसारको भन्दै बनाइएका यस्ता चलचित्रले एउटा गम्भीर प्रश्न उठाएका छन्, के नेपाली समाजको माग यस्तै अश्लिलता र खुलेआम यौन गतिविधी हो त ? यसको जवाफ यस्ता चलचित्र बनाइरहेका निर्माता, उनीहरुको रुची अनुसार चलचित्र बनाउने निर्देशक अनी नाम र दामका लागि जस्तोसुकै दृष्य दिन र संवाद बोल्न नहिच्किचाउने हिरोहिरोईनले दिनु पर्दैन ?

यसै बिषयमा तयार पारिएको रंग दर्पण सुन्न तलको लिंक बटनमा क्लीक गर्नुहोस्

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News