काठमाडौंमा डेढ वर्षभित्र नयाँ केबलकार सञ्चालनमा आउने भएको छ । वित्तीय क्षेत्रमा स्थापित इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) समूहले १८ महिनामा सञ्चालन गर्ने गरी थानकोट–चम्पादेवी केबलकारको काम गरिरहेको छ ।
समूहले करिब १ अर्ब लगानीमा थानकोट गाविसस्थित महादेवस्थानबाट २ हजार ५ सय मिटर अग्लो चन्द्रगिरि पहाडसम्म साढे २ किलोमिटर लामो केबलकार बनाउने तयारी गरिरहेको समूह अध्यक्ष चन्द्र ढकालले बताए । उनका अनुसार महादेवस्थाननजिकै फनपार्क पनि बनाइनेछ । “अबको १८ महिनाभित्र केबलकाकार पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी परियोजना निर्माणको काम गर्दैछौं,” उनले भने ।
समुद्री सतहबाट करिब १ हजार ५ सय उचाइमा रहेको पार्कदेखि केबलकारको अन्तिम बिन्दु रहने पहाडको उचाइ करिब १ हजार मिटर अग्लो छ । काठमाडौं फनपार्क प्रालिले यो केबलकार सञ्चालन गर्न लागेको हो ।
फनपार्क निर्माणका लागि करिब ८० रोपनी जग्गा खरिद तथा लिजमा लिइसकिएको पनि ढकालले बताए । उपत्यकामा युवावग तथा बालबालिकाका लागि आधुनिक र सुविधासम्पन्न पार्क अभाव देखेर निर्माण योजना बनाइएको समूहले बताएको छ । परियोजनामा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ र हाथवे इन्भेस्टमेन्टका अम्बिका पौडेलको पनि लगानी रहनेछ ।
समूहले नेपालकै पहिलो केबलकार सञ्चालक मनकामना केबलकारसहित अस्ट्रेलियालगायतका अन्य विदेशी परामर्शदाता कम्पनीसँग परामर्शसमेत गरिरहेको छ । फनपार्कको डिजाइन प्रसिद्ध भारतीय आर्किटेक्ट कम्पनीले गर्नेछ ।
पार्कमा ‘वाटर वल्र्ड’ सहित मनोरञ्जनका लागि अन्य धेरै पूर्वाधार र रेस्टुराँ पनि सञ्चालन गरिने ढकालले बताए । उनका अनुसार केबलकारको अन्तिम बिन्दु चन्द्रगिरि डाँडामा सुविधासम्पन्न गेस्ट हाउस पनि खोलिनेछ ।
“वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनमा स्वीकृति प्रदान गर्नासाथ केबलकार निर्माणको काम सुरु गरिनेछ,” उनले भने, “स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा छ ।”
केबलकार सञ्चालनमा आए यो नेपालकै दोस्रो हुनेछ । यसअघि मनकामना केबलकारले चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गरिसकेको छ ।