बुटवल - कक्षा ४ मा पढ्दा एक युवकले प्रेमप्रस्ताव गरेपछि उनी झण्डै एक हप्ता नै स्कुल गइनछन्, उनी आफैले भनेको तर ४ कक्षामै पढ्ने एक बालिकालाई प्रेमप्रस्ताव आयो या आएन उनी नै जानुन् । उनका अनुसार घटनाक्रम यस्तो छ– स्कुलको एक जना नजिकको साथी आएर उनकी दिदीसँग भनिदिइन्, ‘हेर्नुस् न नीतालाई एउटा केटाले आएर माया गर्छु भनेको त यत्तिका दिनसम्म पनि स्कुल गएकी छैन ।’ दिदीसँग उक्त घटनाले स्कुल नगएको भनिदिएपछि नीताकी दिदी स्कुलमा गएर त्यो युवकलाई गाली गरिदिएपछि चाहिँ उनी निरन्तर स्कुल जान थालिन् । नायिका नीता ढुंगानाले खित्का छाड्दै भन्छिन्, ‘त्यति सानो हुँदा त मलाई प्रपोज आएको थियो, अहिलेसम्म त कत्ति आए कत्ति तर मन मिल्ने मान्छे भने अहिलेसम्म भेटाउन सकेकी छैन ।’ अहिलेसम्म मलाई जति केटाहरुले प्रपोजका लागि चिठी पठाए सबै चिठीहरु मैले दराजमा राखेकी छु’, उनले भनिन् ।
६ वर्षको उमेरमा नै ‘चेतना’ टेली सिरियलमा अभिनय गरी यो क्षेत्रमा प्रवेश गरेकी नायिका नीताको अनुहार नदेख्ने कमै मात्रामा छन् । बाइक दुर्घटनाका कारण केही समय चलचित्रहरु गुमाए पनि पछिल्लो समय भने उनलाई काम गर्न भ्याईनभ्याई जस्तै छ । कात्तिक १० गते शुभमुहूर्त गरी छायाँकन गरिएको चलचित्र ‘उर्वशी’को मुख्य भूमिकामा रहेकी नायिका ढुंगाना छायाँकनमा व्यस्त छिन् । ‘अन्य मुभीमा भन्दा निकै फरक भूमिका छ यो चलचित्रमा’, उनी भन्छिन्– ‘एउटी केटी जसले सानैदेखि आमाबुबा कसैको पनि माया पाएकी हुँदिन , ऊ कलेज तहको पढाइका लागि जान्छे । उसलाई कसैको मतलबै हुँदैन तर पछि भने ऊ कसैको मायाको खोजीमा हुन्छे, त्यस्तो किसिमको भूमिका गरिरहेकी छु ।’
नायिका ढुंगानाको स्वभाव चाहिँ निकै फरक छ । जब एकान्तमा बस्छिन् तब उनी विभिन्न घटना कल्पना गर्छिन्, भएका घटनाहरु सम्झन थाल्छिन्, तिनै स्मरणीय घटनालाई सम्झदै आँसु बगाउँछिन् । ‘खै किन किन खुसीको क्षणभन्दा दुःखको क्षणमा रमाउन निकै मन पर्छ । भक्कानो फुटेर गएपछि आनन्द आउँछ मलाई किन हो किन’, उनले भनिन् । सुर्खेत जन्मिएकी ढुंगाना झण्डै उमेरको आधा समय काठमाडाँ बिताइन्, त्यसपछि केही वर्ष हेटौंडा र पुनः काठमाडौंमै । ६ जनाको परिवारकी साहिँली छोरी । अनुशासित र नम्र व्यवहार, निकै मिहेनती र एक्स्ट्रा स्वभाव । त्यही भएर पनि हुन सक्छ उनलाई नराम्रो भन्ने त्यति कोही भेटिँदैनन् । ‘सानैदेखि यो क्षेत्रमा रुची भएकी मान्छे हुँ , एउटा अठोट जसरी भए पनि म कलाकार हुन्छु भनेकी थिएँ, भएर छाडें । यद्यपि संघर्षरत छु, अझै संघर्ष गर्ने हो र यही क्षेत्रमै बिताउने हो जीवन ।’
उनको अठोट त्यतिवेला आएको हो जतिवेला सानो उमेरमा हेटौंडामा रहेको चलचित्र हलमा नायक नायिकाको मुख हेर्नका लागि गइन् । कलाकारहरुलाई हेर्न भन्दै गेटबाट छिर्नेवेला त्यहाँका गार्डले उनलाई नराम्रोसँग भुइँमा पछारिदिए । जुरुक्क उठिन् उनी अनि मनमनै भनिन्– हेर म पनि कुनै दिन यस्तै नायिका बनेर यो हलमा आउने छु । त्यहाँबाट फर्किइन् उनी । उक्त कुराले सँधै आफूलाई काम गर्नका लागि उत्प्रेरणा थपिरहेको बताउँछिन् उनी । यद्यपि घरपरिवार साथीभाइ, दिदीदाजु हरेक आफन्तबाट पनि उत्तिकै सहयोग र माया पाएको कारण यो क्षेत्रमा आफूले काम गर्न निकै सहज भएको बताउँछिन् नायिका ढुंगाना ।
आफूले सानो उमेरदेखि यो क्षेत्रमा लागेको कारण त्यति गाह्रो नभएको बताए पनि निकै संघर्षरत रहेको बताउँछिन् । उनको सोचाइ जहिले पनि फिल्मै हुन्छ, तत्काल अन्य कुनै पनि सोच छैन । भविष्यमा समाजसेवी हुने सोच चाहिँ छ उनको । भविष्यमा एउटा राम्रो र सफल कलाकार हुने उनको लक्ष्य हो । फरक प्रसंगमा चलचित्रमा खेल्नका लागि निर्देशकको बेड तताउनुपर्छ भन्छन् नि भन्ने प्रश्नमा उनी भन्छिन्– ‘जेहोस् सुनेको कुरा हो, तर मलाईचाहिँ त्यस्तो मन पर्दैन र कहिल्यै गर्न बाध्य पनि पारिएन, निर्देशकबाट त्यस्तो किसिमको क्रियाकलाप अहिलेसम्म नै भएन ।’ तर पनि यी कुरा नचाहिँदा हो रे । त्यस्तो हिरोइनले बेड तताउँछन् जसले घरपरिवार भन्दा पनि जसरी भए पनि नायिका हुने र घरपरिवारको कुनै मतलब नभएकाले हो त्यस्तो गर्ने ।