मनिषा कोइरालाले फेरि एकपटक आफ्नो दाम्पत्य जीवन र मुम्बइ फर्कने हल्लाहरूको खण्डन गरेकी छन् । साँच्चिकै के भएको हो ? ‘म यसबारेमा कुरा गर्न चाहन्न’ अभिनेत्रीले प्रस्तावलाई ठाडै अस्वीकार गरिदिइन् । तर, उनी आफ्नो विवाहलाई लिएर बलिउड फर्कने गसिपहरूको चाहिँ खण्डन गर्न चाहन्छिन् । ‘म मुम्बई अहिलेसम्म सरेकी छैन । मैले नेपाल र भारतबीच टाइम मात्र सेयर गरेकी हुँ । नेपालमै मैले आफ्नो नयाँ घर सेटिङ गर्ने विचार गरेकी छु’ उनले भनिन् ।
मनिषाको आशय बुझ्दा लाग्छ, यो जोडी पारपाचुकेको अवस्थामा चाहिँ पुगिसकेको छैन । उनी बलिउडको कमब्याकलाई लिएर उत्साहित पनि छिन् । ‘मैले भर्खरै दिप्ती नवलको ‘दो पैसोकी धुप, चार आनेकी बारिस’ खेलेँ जहाँ मैले सडक केटीको भूमिका गरेकी छु । उक्त रोल मेरो उमेरसँग सुहाउँदो छ । म मुलधारका सिनेमा गर्ने मुडमा छैन’ मनिषाले भनिन् । आफ्ना समकालिन बलिउड हिरोइनहरू रविना, करिश्मा, श्रीदेवी र माधुरीबारे सोध्दा मनिषाले सिनेमा उद्योग पूर्णरुपमा चेन्ज भएको बताइन् ।
मनिषा अब चाहिँ क्यामेरा पछाडि जाने तयारीमा छिन् । उनले बलिउड सिनेमा ‘पैसा वसुल’मा लगानी गर्दैछिन् । आफू निकट भविष्यमै निर्देशक बन्ने पनि उनले बताइन् । पृथ्वीनारायण शाहबारे सिनेमा निर्देशन गर्ने मनिषाले यसअघि खुलासा गरिसकेकी थिइन् । ‘निश्चित कुराहरू वर्कआउट हुँदैछन्, तपाईँले मलाई चाँडै निर्देशकको रुपमा देख्न पाउनुहुनेछ’ मनिषा भन्छिन् । मनिषा दुई महिनादेखि मुम्बइमा छिन् । योग गर्न भारत लागेकी मनिषा केही साताअघि पूर्वप्रेमीको घरमा मदिराले मात्तिएर गसिपको पात्र बनेकी थिइन् ।
![]()





