Nepali Film

तेईस करोड महिलालाई गर्भनिरोधक साधन अभाव



पेरिस, फाल्गुन २९ - विश्वमा नै प्रजनन् उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।

फ्रान्सको राजधानी पेरिसमा मङ्गलबार सार्वजनिक सो सर्वेक्षणले आगामी सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवम् सब सहारान अफ्रिकी देशका महिलामा यो अभाव हुने देखाएको छ ।

सो सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन् उमेरका महिलामा गर्भनिरोधक सामानको अभाव हुने भएको देखाएको छ ।

प्रजनन् उमेर भन्नाले १५ देखि ४९ वर्षसम्मको उमेरका महिलालाई जनाउँछ । यो उमेरका महिलामा बच्चा जन्माउन सक्ने क्षमता बढीमात्रामा हुने भएकोले विश्वकै महिलाको सो उमेरलाई प्रजनन् उमेर भनिएको हो ।

यो अभाव बर्सेनि बढ्दै गएको पाइएको छ । सन् २०१० मा यो उमेर समूहका करिब २२ करोड मात्र महिलामा यस्ता साधनको अभाव रहेकोमा सो सङ्ख्या यो वर्ष र आगामी सन् २०१५ सम्मको अवस्थामा हेर्दा बढ्ने पाइएको हो ।

विश्वका विकासशील देशका करिब ८० प्रतिशत नै महिलामा यी साधनको अप्राप्य चाहना रहेको छ । अथवा यी देशका प्रजनन् उमेरका त्यति धेरै महिलाले गर्भनिरोध साधनको प्रयोग गर्न चाहेर पनि पाएका छैनन् ।

विशेषगरी सब सहारान अफ्रिकी देशहरुमा यो अवस्था बढी मात्रामा रहेको छ । पछिल्लो सर्वेक्षणले विश्वमा गर्भनिरोधक सामानहरुको चाहना भए पनि प्रयोगको पहूँच नपाएका महिलाको सङ्ख्या बढ्दै गएको देखाएको छ ।

साथै विश्वका विभिन्न देशमा गरिएको सो सर्वेक्षणले प्रतिवर्ष गर्भनिरोधका आधुनिक साधनको प्रयोगमा महिलाको सङ्ख्या भने बढ्दै गएको पाइएको छ ।

यो अवस्थाले जन्मदर नियन्त्रणका लागि विश्वमा अघि सारिएका पहलहरु पनि पर्याप्त छैनन् र यसबाट महिलाको पहूँच प्रतिदिन टाढा बन्दैछ भन्ने देखाएको विश्लेषकहरुको भनाई छ ।

सन् २०१० मा मात्र पनि विश्वका प्रजनन् उमेरका १२.३ प्रतिशत महिलाले यस्ता साधनको प्रयोगमा पहूँच पाउन सकेनन् । यो सङ्ख्या सन् १९९० मा भने १५.४ प्रतिशत थियो ।

यो अवस्था हेर्दा विगतका दशकहरुको तुलनामा हालैका वर्षहरुमा महिलामा गर्भनिरोधक साधनहरुको प्रयोगको पहूँच केही मात्रामा बढ्दै गएको भने देखिन्छ ।

तरपनि साधन प्रयोग गर्ने महिलाको सङ्ख्या बढ्दै जाँदा अप्राप्य चाहना (अनमिट निड) पनि बढ्दै गएको छ । यो पछिल्लो सर्वेक्षणले पनि सन् २०१० को तुलनामा अबको अवस्था झनै नाजुक हुने देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक सहयोगमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरले हालै सो सर्वेक्षण गरेको हो ।

सन् २०१५ सम्म पूरा हुनुपर्ने सहस्राब्दी विकास लक्ष (एमडिजी) का अनुसार सो वर्षसम्ममा विश्वका सबै महिलामा यस्ता साधनहरुको प्रयोग सर्वसुलभ गराउनु पर्ने भनिएको छ ।

तर यस अवस्थामा भने सो विकास लक्ष्य हासिल हुन सक्ने अवस्था देखिँदैन । जनसङ्ख्या विदहरुका अनुसार महिलामा यस्ता साधनहरुको सर्वसुलभताका कारण बाल स्वास्थ्य, शिक्षा एवम् अन्य मानव विकासमा पनि सहयोग पुग्दछ ।

साथै विस्फोटक रुपमा बढ्दै गएको जनसङ्ख्याको नियन्त्रणका लागि पनि प्रजनन् उमेरका महिलामा गर्भ निरोधक साधनको उपलब्धता र सर्वसुलभता आवश्यक छ ।

साथै गर्भनिरोधक साधन कण्डमले एचआईभी एड्सलगायतका विविध यौन रोगको नियन्त्रणमा पनि सघाउने हुनाले जनस्वास्थ्यका लागि पनि यी साधनको उपलब्धता आवश्यक नै छ ।

यस तथ्याङ्क बाहेक पनि यदि विश्वका थप १२ करोड महिलाले आगामी सन् २०२० सम्ममा यस्ता साधनको प्रयोगमा पहूँच पाएभने कम्तीमा पनि तीस लाख शिशुहरु असुरक्षित गर्भकाका कारण हुनसक्ने स्वास्थ्य जोखिमबाट बच्न सक्नेछन्– सो सर्वेक्षणमा भनिएको छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News