घटनालाई लिएर पीडित पक्षले जिल्ला प्रहरीमा किटानी जाहेरी दिए पनि १० दिन बितिसक्दासम्म प्रहरीले दोषीलाई पक्राउ गर्न तत्परता नदेखाएको पीडित पक्षले आरोप लगाएको छ ।अभियुक्त मल्ल सोही दिनदेखि फरार रहेको प्रहरीले बताए पनि उनी गाउँमै लुकेर बसेको दाबी स्थानीयवासीले गरेका छन् ।पीडित महिलासँगै सदरमुकाम आएका कमल खड्काले प्रहरीले न्याय दिलाउन सहजीकरण गर्नुको साटो उल्टै दोषीलाई खोजेर प्रहरीमा ल्याउन आफूहरुलाई भनेको बताए ।
आफूहरुको सघाउने र बोलिदिने अरु कोही नभएकाले स्थानीय प्रहरी प्रशासनले समेत घटनालाई सानो रुपमा लिएको पीडितको आरोप छ ।पीडित महिलाका श्रीमान् बिरामी भएको र आर्थिक अभावकै कारण उपचार गराउन लैजानका लागि माइतबाट पैसा सापट गरी घर जाँदै गर्दा बाटामा उक्त घटना भएको बताइएको छ ।
घटना भएको लामो समय बितिसक्दासम्म स्थानीय प्रहरी प्रशासन मौन रहेको भन्दै घटनाप्रति गम्भीर बन्न ध्यानाकर्षण गराइएको महिला मानवअधिकारकर्मी पार्वता आचार्यले बताइन् ।
घटनाको १० दिन पुग्दा सोमबार पीडित महिलालाई न्यायिक सहयोग गर्न स्थानीय मानवअधिकारकर्मी र पत्रकार सदरमुकाम खलङ्गा आएका थिए ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाबारे ढिलो थाहा भए पनि अब आफ्नो ध्यानाकृष्ट भएको बताए । दोषी फरार रहेकाले पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । रासस