Nepali Film

संसारकै होचा व्यक्ति खगेन्द्र थापा होची मञ्जु घिमिरेले विवाह गर्ने

गिनिज बुकमा संसारकै होचा व्यक्तिको नाम लेखाइसकेका खगेन्द्र थापा मगरसँग नेपालकै होची मञ्जु घिमिरेले विवाह गर्ने चाहना राखेकी छन् । '

जोडी खोज्दै खगेन्द्र' शीर्षकमा समाचार आएपछि मञ्जुले उनका लागि आफू नै उपयुक्त बधु भएको दाबी गरेकी हुन् ।

चितवन सौराहाकी साढे २ फुट उचाइकी मञ्जुले मंगलबार टेलिफोनमा भनिन्, 'खगेन्द्रले पनि मलाई मन पराउने भएकाले हामी उपयुक्त जोडी हौं ।' उनले जोडी खोज्दै खगेन्द्र समाचार पढेपछि आफू स्तब्ध भएको र खगेन्द्रसँग छिट्टै विवाह गर्न चाहेको बताइन् । खगेन्द्रका लागि आफू नै जोडी भएकाले अन्यत्र कोही खोज्नु नपर्ने उनको भनाइ छ ।०५८ सालमा नेपालकै होची महिलाका रूपमा हिमाली सांस्कृतिक संस्थाबाट सम्मान पाएकी मञ्जु तीन वर्षसम्म खगेन्द्रसँगै मेला/महोत्सवमा हिँडेकी थिइन् । त्यही क्रममा उनीहरू एकअर्काबीच नजिक भएका हुन् । 'मलाई पनि खगेन्द्र मन पर्छ, उहाँ पनि मलाई मन पराउनुहुन्छ, देखेपछि खुसी हुनुहुन्छ,' मञ्जुले भनिन्, 'त्यसैले पनि हाम्रो जोडी नजम्ने कुरै छैन ।'

खगेन्द्रले विश्वकै होचा व्यक्तिका रूपमा नाम लेखाएपछि आफूलाई खगेन्द्र थापा मगर प्रतिष्ठानले अलग्याउँदै लगेको उनले गुनासो गरिन् ।'मलाई प्रतिष्ठानले कुनै पनि कार्यक्रममा बोलाउन छाड्यो,' उनले भनिन्, 'तर पनि खगेन्द्रको माया अहिलेसम्म संगालेर राखेकी छु ।' २० वषर्ीय खगेन्द्र बिहे गर्न आतुर छन् । परिवार पनि मिल्दो बधु खोजिरहेको छ । 'खगेन्द्रको चाहना पनि बुझ्नुपर्‍यो,' मञ्जुको चाहनाबारे खगेन्द्रका बुवा रूपबहादुरले भने, 'दुवैको चाहना मिल्यो भने जोडी नहोला भन्न पनि सकिँदैन ।'

कलाकारितामा लागेकी मञ्जुले एक दर्जन नेपाली सिनेमा र सिरियलमा अभिनय गरिसकेकी छन् । काठमाडांैमा रहेकी उनी कल्चर डान्सरका रूपमा कार्यरत छिन् । २६ दशमलव ४ इन्च उचाइका खगेन्द्र गिनिज बुक अफ दि वल्र्डमा गत वर्षको असोज २८ गतेदेखि ८ महिनासम्म आफ्नो नाम चम्काएका थिए । खगेन्द्रको उपाधि खोसिए पनि उनलाई विभिन्न देशहरूमा सम्मान लिन तथा भ्रमण गर्न निमन्त्रणा भने आइरहेको छ ।
-शिव शर्मा

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News