भोली देखी यी काम गर्नुस तर यी काम भने गर्दै नगर्नुहोला...
१ भदौ,काठमाडौ। भोलीदेखी अर्थात भदौ २ गतेदेखि भदौ ३१ गतेसम्म अधिकमास परेको छ। अधिकमासलाई मलमास र पुरुषोत्तम महिनाका नाउँले पनि पुकारिने गरिन्छ। सनातन हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतीक भगवान् पुरुषोत्तम (विष्णु)का रूपमा सम्मानित अधिकमास भदौ महिनाभर व्रत, कथाश्रवण तथा पारायण गरी मनाइने प्रचलन रहेको छ।
धार्मिक शास्त्रले बताए अनुसार यो विशेष महिनामा गर्न नहुने काम के के हुन्?
मलमासमा पहिलेदेखि आरम्भ गरिएका कार्यहरू जस्तै न्वारन, पितृश्राद्ध, गर्भाधान, पुंसवन तथा सीमांत संस्कार आदि निरन्तर गर्न सकिने तर विवाह, व्रतबन्ध, नवबधु गृह प्रवेश, भगवान्को मूर्ति स्थापना आदि कार्य भने निषेध गरिएको छ।
के गर्ने त ?
यस अवधिभर व्रत बस्ने व्रतालुका लागि बिहान सबैर स्नानादी कर्मपश्चात् भगवान् पुरुषोत्तम (विष्णु)को पूजा, जप गर्ने, पुरुषोत्तम महात्म्यको कथा पाठ पारायण तथा श्रवण गर्ने, विष्णु सहश्रनाम पाठ गर्ने, सात्विक भोजन तथा महिनाभर खाली भुइँमा सुत्नाले मनोवाञ्छित शुभ फल प्राप्त हुने विश्वास गरिन्छ।
अधिकमास समाप्तीका दिन स्नानादीकर्मपश्चात् नित्य पूजाअर्चना तथा दान, जपको अत्यधिक महत्व रहेको र उद्यापनमा श्रद्धाअनुसार दान तथा ब्राह्मण भोजन गराउनु राम्रो हुने बताइन्छ।
मलमासमा विवाहित नवदम्पती एकै घरमा बस्नु उचित नहुने तथा यो अवधिमा गर्भधारण भएमा उत्तम सन्तान प्राप्त नहुने सांस्कृतिक जनविश्वास रहेको पाइन्छ।
अधिकमासको धार्मिक महत्व के छ ?
अधिकमासको गणनामा नेपालमा पञ्चाङ्ग चन्द्रमासअनुसार निर्माण हुने भएकाले चन्द्रमासमा सूर्य सङ्क्रान्ति नपरेमा अधिकमास पर्दछ।
शास्त्रीय पक्षअनुसार, एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुने गर्दछ। सौरमास र चन्द्रमासमा समीकरण मिलाउन ज्योतिषहरूले अधिकमासको रचना गरेका हुन्।
ज्योतिष तथा विद्वान्हरूको भनाइमा एक मलमासको समाप्तीपछि २८ देखि ३६ महिनासम्ममा अर्को मलमास पर्न आउँछ अन्यथा चन्द्रमासको प्रणाली बिग्रन्छ।
दुईवटा औँशी तिथि एकै महिनामा परेका बेलामा मलका रूपमा अधिकमास आउने भएकाले यसलाई मलमास पनि भनिएको र यस महिनालाई निन्दा गरिएको वेद पुराणादिमा पाइने गरेको उनले बताए।
लोकको निन्दाबाट बच्न मलमासले विष्णु भगवान्को आराधनाबाट रामावतारमा पुरुषोत्तम भगवान्का रूपमा मान्यता प्राप्त गरेको बताइन्छ ।
उनले यस महिनाभर निष्कामका साथ पुरुषोत्तम (विष्णु) भगवान्को महात्म्य, कथा, पुराण आदिको पारायण, श्रवण र मालपुवा दान गर्ने प्रचलन रहेको बताए।
पौराणिक पक्षमा अधिकमासले आफ्नो स्थान कहाँ हो भनी ब्रह्माजीलाई सोध्नुभएको र ब्रह्माजीले गो लोकवासी कृष्णसहित भगवान् रामका समक्षमा पठाउँदा रामले अधिकमासलाई आलिङ्गन गरी पुरुषोत्तम भगवान्का रूपमा पूजनीय हुनेछौ भन्ने आशीर्वाद दिएकाले अधिकमासलाई पुरुषोत्तम भगवान्का रूपमा पूजिने गरिएको हो ।
मेदावी ऋषिकी छोरी गुणसुन्दरीको विवाहका लागि वर खोज्दै गर्दा ऋषिको मृत्यु भएको र छोरी आफैले पिताको किरियाकर्म समाप्त गरेपश्चात ऋषि दुर्भासासँग विवाहका लागि वर खोजीदिन अनुरोध गर्नुभएको र ऋषि दुर्भासाले अधिकमास सुरु हुन लागेकाले पुरुषोत्तम भगवान्को पूजा व्रत गरे पति प्राप्त हुने सल्लाह दिनुभयो।
तर ऋषिपुत्री गुणसुन्दरीले पुरुषोत्तमको नभई शिवपार्वतीको व्रत पूजा गरी प्रशन्न गराई पाँचपटक शिवजीसमक्ष पति पाउँ भनी मागेकाले शिवजीले ऋषिदुर्भासाको सल्लाहबमोजिम व्रत नगरी मेरो व्रत गरेको र पाँचपटक पति पाउँ भनी मागेकाले यस जन्ममा नभई अर्को जन्ममा द्रौपदीका रूपमा जन्म भई पाँच पाण्डव तिम्रा पति हुन्छन् भनी बरदान दिएको महाभारतमा उल्लेख छ
शुद्ध घ्यू, सख्खर र गहुँको पिठो मिलाई ३३ वटा मालपूवा बनाई काँशको थालीमा राखेर फलफूल, वस्त्र, मिठाइ तथा दक्षिणासहित ब्राह्मणलाई दान दिनु र दानको समयमा 'ॐ विष्णुरूपः सर्वपाप प्रणाशनः। अपूपान्न प्रदानेन् मम पापं व्यपोहतु'।। मन्त्र उच्चारण गरी 'यस्य हस्ते गदाचक्रे गरुडोयस्य वाहनम्। शंख करतले यस्य स मे विष्णुः प्रसिदतु' भगवान् विष्णुको प्रार्थना गर्नु उत्तम हुन्छ।
एजेन्सीहरुको सहयोगमा