Nepali Film

बिनामेहनत पपुलर भए-निर्मल शर्मा, कलाकार -गैडा


बिनामेहनत पपुलर भए

-निर्मल शर्मा, कलाकार
म भारतको पुनास्थित एक कलेजमा पढ्थेँ । त्यही बसाइमा बलिउडलाई पनि नजिकबाट बुझ्ने मौका पाएँ । उतिबेला बलिउड चलचित्र सुटिङका लागि युरोप–अमेरिका लैजाने चलन थिएन । अधिकांश सुटिङ बम्बई–पुना रोडमै भएको हामी देख्थ्यौँ । कलेज नजिकै रहेकाले म धेरैजसो समय सुटिङ हेरेरै बिताउथँे । सोही क्रममा अमिताभ बच्चन, सञ्जय दत्त, जैकी स्राफजस्ता स्टारलाई नजिकबाट नियाल्न पाएँ । ती कलाकारको जीवनशैली, सुरक्षाव्यवस्था, फ्यानहरूको भीडजस्ता पक्षले म पनि अभिनयतिर लोभिएँ । ममा पनि ‘स्टार’ भएर नाम कमाउने भोक जाग्यो ।

सन् १९८८ तिर होला, त्यहाँ इन्टर कलेज डान्स कम्पिटिसन आयोजना भयो । मैले पनि भाग लिएँ । प्रतिस्पर्धा ज्यादै कठिन थियो । तर, पनि एउटा सिक्वेलमा म बेस्ट ठहरिएँ । उपाधिसँगै २५ हजार भारु पुरस्कार पाएँ । एक हजार भारुले नै एक महिना होस्टेलमा बस्न, खानदेखि लिएर अरू थुपै्र खर्चसमेत चलाउन पुग्थ्यो । पुरस्कार पाएपछि मलाई लाग्यो– साँच्चै कलाकारितामा पो रहेछ त पैसा । त्यसपछि म झन् मोहित हुन थालेँ ।

कलाकारितामा त लाग्ने तर कहाँबाट छिर्ने † मोडलिङबाट करियर सुरु गर्ने विचार गरेँ । इन्डियाबाट प्रकाशित हुने एसिया विक म्यागजिनमा म साथीहरूसँगै र्‍याम्पमा उत्रिएको फोटो छापियो । निकै लोकप्रिय पत्रिका थियो त्यो । नेपालमा पनि आइपुग्दो रहेछ । सोही कारण म नेपालमा पनि चर्चित भइसकेको रहेछु । र्‍याम्प शो सकिएर नेपाल आउँदा मलाई बधाईको ओइरो लागेको थियो । सोही बेला जिटिभीले उक्त फेसन शो प्रसारण गरिदियो । टिभीमा झल्याकझुलुक म पनि देखिएँ, चिन्नेहरूले राम्ररी ठम्याउन सक्ने गरी । त्यसपछि त के थियो, मलाई नेपालमै धेरैले आफ्नो चलचित्रमा नायकको भूमिकामा अफर गरे । उसबेला म अहिलेजस्तो मोटो ज्यानको कहाँ थिएँ र ? अनुहारमा भर्खरै जवानी चढेको, स्लिम शरीर, आकर्षक हाइट । ऐना हेर्दा म आफैँ पनि आफूलाई हिरो देख्थेँ ।

कलाकारिताको रस मनमस्तिष्कभरि फैलिए पनि पुख्र्यौली कारोबारमा फस्नुपरेकाले हिरो बन्ने अफर भने मैले स्विकार्नै पाइनँ । चलचित्र खेल्न नभ्याए पनि एउटा मिनरल वाटरको विज्ञापन भने गरेँ, टेलिभिजनमा एक महिनाजति बजेको थियो ।
०५३ तिर होला, दीपाश्री निरौलासँग दूधको विज्ञापन खेल्ने अवसर पाएँ । उनी उतिबेलै चलेकी कलाकार भइसकेकी थिइन् । दिनमै १०–१५ पटकसम्म बज्ने यो विज्ञापनबाट मैले पनि निकै चर्चा कमाएँ । आजसम्म आउँदा त मैले खेलेका विज्ञापनको संख्या ७० वटा नाघिसके होलान् ।

नायकको भूमिकामा अभिनय गर्ने रहर मनभरि थियो तर पछिल्लो समयमा किनकिन मलाई आँटै आएन । जसरी हुन्छ चलचित्रसँग जोडिइरहनचाहिँ चाहन्थेँ । त्यसैले चलचित्र ‘आमाको माया’ मा सहनिर्माताका रूपमा हात बढाएँ । समुन्द्र भट्टचनले सो चलचित्रमा रहेका तीन हिरोमध्ये एउटामा मलाई अफर गर्नुभएको पनि हो, तर के भो के भो आँटै पुगेन । सोचेँ– पहिले निर्माता बनेर चलचित्रक्षेत्र बुझ्छु अनि मात्र खेल्नुपर्ला । लगत्तै चलचित्र ‘जलन’ मा पनि पार्टनरसिपमा लगानी गरेँ । आम्दानीका हिसाबले यी दुवै चलचित्र बालुवामा पानी हालेसरह भए, तैपनि चलचित्रप्रतिको मेरो आकर्षण झन्झन् बढ्दै थियो । फुर्सद भयो कि सिरियल र विज्ञापन भने खेलिहाल्थेँ । यस हिसाबले मैले यो अवस्थामा आइपुग्न अरूले जस्तो कठिन संघर्ष भने गर्नु परेन ।
०००
देशका थुप्रै राम्रा कलाकार ओझेलमा छन् । शूरवीर पण्डित, रामचन्द्र गुरु (अधिकारी) लाई उदाहरण लिन सकिन्छ । उनीहरूको तुलनामा मेरो अभिनय त दश प्रतिशत पनि छैन । कहिलेकाहीँ त लाग्छ– म अभिनय गर्न जान्ने मान्छे नै हुइनँ । छन त १६ वटाभन्दा बढी म्युजिकभिडियो र त्यति नै हाराहारीका विज्ञापन निर्देशन गरेको छु । यसरी हेर्दा अरूलाई अभिनय सिकाउन सक्ने हैसियत बनाइसकेको हुनुपर्ने हो । तैपनि अहिलेका थुप्रै कलाकारमध्ये अभिनय गर्न कम जान्नेमा पर्छु म । ‘फ्ल्युक’ अभिनय गरेकै भरमा चर्चा कमाएँ, भाग्य नै भन्नुपर्छ । अहिले सोच्दा लाग्छ, जे भएछ राम्रै भएछ । नायक हुन्थेँ त आजभन्दा दश वर्षअघि नै करियरबाट रिटायर्ड भइसक्थेँ । अहिले जुन भूमिकामा दर्शकमाझ परिचित छु, त्यसबाट त अझै दश वर्ष कलाकारितामा रहिरहन सक्छु होला ।

शम्भुजित बास्कोटा दाइ नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष हुनुहुन्थ्यो । उहाँकै सहयोगमा हास्य शृंखला ‘तीतो सत्य’ बनाउने मौका मिल्यो । तेस्रो भागबाटै अधिक चर्चा कमाउन सुरु गरेको यो कार्यक्रम अहिले त नेपालकै सबैभन्दा चर्चित टेलिभिजन सिरियल बनिसकेको छ । यसका चार मुख्य कलाकारमध्ये एक म पनि हुँ । यसबाट जुन ख्याति कमाएको छु, मेरो कलाकारितायात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।
०००
आठ वर्षअघि बुबाको निधन भएपछि घरको पनि मुख्य मान्छे मै भएको छु । सम्पूर्ण पारिवारिक जिम्मेवारी मेरै काँधमा छ । दुई छोरा र एक पत्नीसहितको मेरो परिवार सिफलमा बस्छ । दूध ल्याउने, बेडसिट मिलाउने, बिहान उठ्नासाथ पर्दा खोल्नेलगायत घरायसी काम भ्याएपछि घरबाहिरको सरसफाइमा पनि बित्छ मेरो समय । परिवारप्रति गहन भूमिका छ, हरबखत त्यसलाई निर्वाह गर्ने ध्याउन्नमा लागिरहेको हुन्छु । यही जिम्मेवारीबोध देखेकाले होला, परिवार पनि मलाई कलाकारितामा उत्तिकै सपोर्ट गर्छ ।
‘तीतोसत्य’ को सुरुका दिनमा भने पत्नी उति सन्तुष्ट थिइनन् । कारण, सँगै हिँड्दा मानिसहरूले मलाई ‘गैँडा’ भनेको उनलाई मन पर्दैनथ्यो । मलाई पनि सुरुमा उत्ति मन परेको थिएन । तर, आज यही भूमिकाबाट लोकप्रियता हासिल गरेको छु । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा ‘गैँडा’ को पहिचान स्थापित भएको छ । उनी पनि खुसी छिन् । उनी आफैँ पनि सक्षम नारी हुन्, काम गर्छिन् ।
मानिसको जीवन सधैँ सुखमय हँुदैन, कलाकारका हकमा पनि यो लागू हुन्छ । दर्शकहरूको व्यवहारका कारण कहिलेकाहीँ प्यारोलाग्दो पहिचान पनि तीखो काँडाजस्तो बन्दो रहेछ । त्यो दिन अझै सम्झन्छु, जतिखेर म आर्यघाटमा बुबाको लासअघि टोलाउँदै आँसु झारिरहेको थिएँ । बुबाको वियोगमा विह्वल थिएँ । पारिपट्टिबाट कोही जिस्क्याएर मनोरञ्जन लिइरहेको थियो– ‘ओए गैँडा †’ नजिकै आइपुग्दा पनि त्यसै भनेर जिस्क्याइरहे । म निरीह बनेर सुनिरहेँ । आर्यघाटमा दागबत्ती समाइरहँदा पनि कलाकारबाट मनोरञ्जनकै आश गरिरहँदा रहेछन् दर्शक । अरू बेला त खुसी नै लाग्थ्यो, तर त्यस दिन मेरो मुटु निचोरिएको थियो । लाग्यो– कम्तीमा शोकका बेलाचाहिँ यस्तो नभन्दिएको भए हुन्थ्यो । सँगै रहेका मलामी आफन्तले पनि चित्त दुखाए । यो एउटा घटना सम्झँदाचाहिँ आज पनि दु:ख लाग्छ ।
०००
घरमा यथेष्ट समय नदिने भनेर कलाकारका परिवारले गर्ने गुनासो मेरोमा पनि नभएको होइन । इष्टमित्र, छरछिमेकी पनि यही गुनासो गर्छन् । साँच्चै, सुटिङमा न समयको ठेगान हुन्छ, न त ठाउँको । बोलाएको ठाउँमा जान भ्याइँदैन, टोलछिमेकमा भिज्न पाइँदैन । कहिलेकाहीँ त दु:ख लाग्छ । आफैँसँग गुनासो गर्छु– ‘कस्तो पेसा अँगालेछु †’
अब त मेरा २२ वर्ष बितिसकेछन् कलाक्षेत्रमा । पाँचवटा सुपर फ्लप चलचित्र पनि बनाएँ । कति गुमाएँ, हिसाबकिताबै छैन । ५३–५४ वटा चलचित्रमा अभिनय पनि गरेँ । मेरो रहर र सोच पूरा गरिदिने चाहिँ ‘तीतो सत्य’ नै हो । सोखले लागेको म अहिले प्रोफेसनल कलाकार भएको छु । यो अवधिमा मैले देखेको यथार्थ के पनि हो भने कलाक्षेत्रमा लागेर व्यावसायिक भविष्यको कल्पना गर्नु बेकारको कुराजस्तो भएको छ । नयाँ पिढीले पनि यसलाई मनन गर्नुपर्छ । हामीले देखेका छौँ– मूर्धन्य कलाकार गोपालराज मैनाली, रवि शाहजस्ताको अन्तिम अवस्था निकै पीडादायी थियो । जबकि उनीहरूले जीवनका स्वर्णिम पलहरू कलाक्षेत्रलाई नै चढाएका थिए । यो क्षेत्रबाट परिवार पाल्ने, जीवन गुजारा गर्ने कुरा अहिलेका लागि चाहिँ हास्यास्पद नै हो । कुर्दै जाँदा पछि केही हुन्छ कि †
०००
नेपाली चलचित्रका स्टारहरूको जीवनशैलीमा पनि खास परिवर्तन आएको देखेको छैन मैले । त्यसो त थुप्रै संघसंस्था खुलेका छन् तर चलचित्र तथा कलाकारको अवस्था सुधार्ने बाटोमा कोही छैनन् । सबै आफ्नै स्वार्थपूर्तिमा केन्द्रित छन् । यहाँ एउटा निर्माताले हावामै लाखौँ रुपियाँ डुबाइरहेको हुन्छ, उसलाई बाटो देखाउने कोही छैन । दुई आना जग्गा किन्दा त माटो देखाउनु, छिमेकीलाई सोध्नु, मठ भिडाउनुपर्ने हाम्रो समाजमा चलचित्रमा लाखौँ लगानी गर्नचाहिँ केही गर्नुनपर्ने † नियमकानुन नभएकाले नै चलचित्रमा भएको लगानी खेर गएको हो । लगानी त गयोगयो, ४० वर्ष बिताएर रिटायर्ड भएका कलाकार पनि उस्ताको उस्तै छन् । बूढेसकालमा जीविकाका लागि अर्को काम खोज्न बाध्य हुन्छन् । कलाकारितामा कसैको गाइड लाइन छैन । जानेबुझेकामध्ये पनि कोहीकोही त कलाकारिताका आडमा मानवतस्करीको धन्दा चलाइरहेका हुन्छन् । चलचित्र विकास बोर्डको काम के हो, उसैलाई थाहा नभएजस्तो व्यवहार छ । राजनीति र स्वार्थपूर्तिका लागि मात्र चलखेल गर्ने हो भने बोर्ड चाहिँदैन ।
प्रस्तुति : कुबेर गिरी

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News