छिन्चु (सुर्खेत), माघ ७ - भारत, नयाँदिल्लीको जिबिरोडस्थित एक कोठीमा सयभन्दा बढी नेपाली चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको त्यहाँबाट फर्किएकी युवतीले बताएकी छन् । ५६ नम्बरको सरकारी भवनमा सञ्चालित उक्त कोठी सुर्खेत, मैनतडा-३, सानो जात्रीकी ममता वादीले चलाएकी हुन् । त्यहाँ आफ्नै गाउँका ६ जना चेलीसमेत रहेको ती युवतीले जनाइन् ।

दैनिक २५ जना ग्राहकलाई सन्तुष्ट बनाउनु पथ्र्यो । भनेको नगरे कुटपिट गर्ने र चुरोटको ठुटाले पोल्ने गरिन्थ्यो ।' चार पटक भागे पनि ममताका गुन्डाले फेला पारेको उनले बताइन् । कोठीमा छँदा ग्राहकका रूपमा आएका दिल्ली, रोहीनी सेक्टर-२७ का एक भारतीय युवकसँग उनको प्रेम बस्यो ।
मायामा परेपछि ती युवक पटक-पटक उनीकहाँ ग्राहक बनेर जान थाले । र, एक दिन भगाएर अदालत लगी बिहे गरे । ती युवकको अठोट नै कोठीमा बेचिएकी केटीसँग जीवन बिताउने रहेको उनले सुनाइन् । बिहे गर्दा उनीहरूले बाबु पर्शुरामलाई नै साक्षी राखेका थिए । तर सुर्खेत माइत आउँदा उल्टो ती युवकले पिटाइ खाए । त्यसपछि भागेर भारत जाने क्रममा बेच्न लगेको शंका गर्दै इलाका प्रहरी कार्यालय छिन्चुले उनीहरूलाई पक्रियो । उनीहरूले प्रहरी निरीक्षक रमेश तामाङलाई घटनाको सबै विवरण सुनाए । त्यसपछि प्रहरीले थाल्यो- चेलिबेटी बेचबिखन गर्ने गिरोहबारे अनुसन्धान ।
ती युवतीले ममताकै कोठीमा काम गर्ने एक चेलीले पठाएको ५ हजार रुपैयाँ उनकी आमालाई प्रहरी चौकीमै हस्तान्तरण गरेकी थिइन् ।
'तर आमाले भने छोरी त्यस्तो कर्ममा नलागेको विश्वास व्यक्त गरिन्,' निरीक्षक तमाङले भने । ती भारतीय युवकका अनुसार ममताले सरकारी लाइसेन्स लिएरै कोठी सञ्चालन गरेकी हुन् । 'ममताले गाउँकै तहसनहस गरेकी छ,' उनले भने, 'ममतालाई पक्राउ गरे गाउँकै उद्धार हुनेछ ।' प्रहरीका अनुसार चेलिबेटी बेचबिखनमा संलग्न मैनतडाका मानबहादुर वादी, सागर वादी, ओवीलाल वादी र कसिरमा वादी फरार छन् ।